हेटौँडामा तीन सवारी आपसमा ठोक्किँदा ३१ घाइते



हेटौँडा,असोज ६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिक आज दिउँसो भएको दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर बस अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको हो। सो ट्रक अनियन्त्रित भई पुनः काठमाडौँबाट बारातर्फ जाँदै गरेको ना७ख १७७४ नम्बरको खाली तेल ट्याङ्करसँग ठोक्किँदा ठूलो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा बस र ट्रकमा सवार गरी ३१ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्