चुनाव फागुन २१ गते नै गर्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं,असोज ६ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन्।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले सरकारको मुख्य दायित्व आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारे। उनले भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माणका क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी ठोस संरचना बनाएर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री खरेलले धुलो र खरानी टक्टक्याउँदै पुनर्निर्माणलाई जनताले अनुभूति गर्ने गरी अघि बढाइने बताए। साथै, कर्मचारीहरूको काममा आफूले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै विगतमा राजनीतिक हस्तक्षेपका कारण कर्मचारीहरूले प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे।

