असोज अन्तिम सातातिर मात्र मेलम्चीको पानी काठमाडौँमा



काठमाडौँ,असोज ७ । उपत्यकामा यस वर्ष असोजको अन्तिम सातातिर मात्र मेलम्चीको पानी आउने भएको छ।

वर्षाको कारण मेलम्ची खोलामा पानीको बहाव बढेकाले दसैँअघि मेलम्चीको पानी ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पानीको बहाव अझै घटेको छैन, बहाव कम भएपछि मात्रै पानी ल्याउने तयारी छ।”

वि.सं. २०७८ असार १ गते आएको बाढी र पहिरोले आयोजनाको हेडवर्क्स क्षतिग्रस्त भएपछि मेलम्चीको पानी हिउँदमा मात्र काठमाडौँ पठाइँदै आएको हो। केही दिनयता ठूलो वर्षा भएकाले अहिले मेलम्चीको मुहान फेरि बन्द गरिएको दासले बताउनुभयो।

यसअघि मेलम्चीबाट दैनिक १७–१८ करोड लिटर पानी काठमाडौँमा पठाइँदै आएकोमा अहिले रिबर्मा खोलाबाट ६–७ करोड लिटर मात्र आपूर्ति भइरहेको समितिको भनाइ छ।

वि.सं. २०७८ चैत १५ गतेदेखि मेलम्चीको पानी पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर वितरण गरिएको थियो। तर, असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म वर्षैभर आपूर्ति गर्न सकिएको छैन।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि मेलम्ची बन्द हुँदा विभिन्न स्रोतबाट जम्मा १३–१४ करोड लिटर मात्र आपूर्ति भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्