जेनजी आन्दोलनमा कांग्रेसका १३१ नेताका घर तथा कार्यालयमा आगजनी र तोडफोड
काठमाडौं,असोज ७ – जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका विभिन्न तहका १३१ नेताका घर तथा पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ । भदौ २४ गते प्रदर्शनकारीले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य तथा सूचना, सञ्चार र प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित ३६ नेताका घरमा आगजनी र तोडफोड गरिएको छ । त्यसैगरी जिल्ला र स्थानीय तहका ९५ नेताका घरमा पनि क्षति पुगेको बताइएको छ ।
“केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त भएको छ । कुनै पनि सामग्री जोगिएको छैन । प्रारम्भिक अनुमान अनुसार १० करोड रुपैयाँ बराबरको क्षति भएको छ,” नेता विश्वकर्माले बताउनुभयो ।
सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणाको काठमाडौं बुढानीलकण्ठ तथा धनगढीस्थित घरमा तोडफोड र आगजनी भएको छ । उपसभापति पूर्णबहादुर खड्काको बुढानीलकण्ठस्थित घर, महामन्त्री गगनकुमार थापाको रातोपुलस्थित घर, महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरस्थित भाडाको घर र झापाको धुलाबारीस्थित घर पनि आक्रमणको निसाना बनेका छन् ।
त्यस्तै सहमहामन्त्री उमाकान्त चौधरीको बारास्थित घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषास्थित घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको डेरामा रहेका सामग्री, कोषाध्यक्ष उमेश श्रेष्ठको चितवनस्थित दुईवटा घर र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको घरमा पनि तोडफोड गरिएको छ ।
केन्द्रीय सदस्य प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित गणेशमान सिंह निवास, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. रामशरण महत र डा. शेखर कोइरालाको विराटनगरस्थित बिपी कोइरालाको निवासमा समेत तोडफोड र आगजनी भएको छ ।
नेता विश्वकर्माले जेनजी पुस्ताले उठाएका मागलाई आम नेपालीको मागको रुपमा लिइएको उल्लेख गर्दै, “जेनजीले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको उच्चतम व्यावहारिक अभ्यास हो,” भन्नुभयो ।

