संचार मन्त्री खरेल : “शासन गर्न होइन, सहयोग गर्न आएको हुँ”
काठमाडौँ, असोज ७ । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू शासन गर्न नभई सहयोग गर्न आएको स्पष्ट गर्नुभएको छ । सोमबार शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जेनजी आन्दोलनका मुद्दालाई आत्मसात् गर्दै सुशासन र चुस्तदुरुस्त सेवा प्रमुख प्राथमिकता हुने बताउनुभयो ।
मन्त्री खरेलले पहिलो निर्णयका रूपमा काठमाडौंका सार्वजनिक स्थलमा दुई महिनाभित्र र सातै प्रदेशका प्रमुख १० सहरका सार्वजनिक स्थलमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, “खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूति हुने गरी केही काम पक्कै गर्छौं ।”
उहाँले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको मात्र पुनर्निर्माण नभई सुशासन, न्याय र भ्रष्टाचार अन्त्य पनि अनिवार्य हुनेमा जोड दिनुभयो । “यो सरकार जेनजी आन्दोलनको जगमा उभिएको हो, यसले गर्ने काम जटिल र चुनौतीपूर्ण छन्,” मन्त्री खरेलले भन्नुभयो ।
नेपालको कर्मचारी प्रशासनमा राजनीतिक हस्तक्षेप भएन भने काम गर्न सक्ने विश्वास आफूलाई रहेको प्रष्ट पार्दै उहाँले छ महिनापछि आफ्नो कार्यकाल सकिँदा “नेपालको कर्मचारीतन्त्र सक्षम छ” भन्ने अनुभूति दिलाउने लक्ष्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिबद्धतासहित देशको जिम्मेवारी लिनुभएको उल्लेख गर्दै मन्त्री खरेलले आफू र मन्त्रालयको टोली त्यसमा सहयोगी बन्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँका अनुसार एआई नीति कार्यान्वयनको चरणमा पुगेको छ भने डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषद्बाट पास हुने क्रममा छ, यी दुवै कामलाई प्रभावकारी रूपमा अघि बढाइनेछ । “देशको महत्वपूर्ण ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले अन्तरिम सरकारको जिम्मेवारी पूरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
पत्रकारिता पृष्ठभूमिबाट आएका मन्त्री खरेल विगत २५ वर्षदेखि संचार क्षेत्रमा सक्रिय हुनुहुन्छ । इमेज च्यानलको समाचार प्रमुखका रूपमा परिचित खरेल दोलखा, कालिञ्चोक गाउँपालिका–सुनखानी भदौरेका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले रत्नराज्यलक्ष्मी क्याम्पसबाट अध्ययन गरी पत्रकारितामा स्नातकोत्तर पूरा गर्नुभएको छ भने हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।

