नुवाकोट शिवपुरीकी काजल तामाङलाई मिस एण्ड मिसेस ट्यालेन्ट २०२५ उपाधि



नुवाकोट, असोज ७ । जिल्लाको शिवपुरी गाउँपालिका–६, खोलेगाउँकी काजल तामाङले मिस एण्ड मिसेस ट्यालेन्ट २०२५ को उपाधि जित्नुभएको छ । वर्ष १९ की तामाङले सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्नुभएको हो ।

अजयकुमार तामाङ र कोपिला तामाङकी छोरी काजल हालै निस्ट कलेजबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । आत्मविश्वास, प्रस्तुति र कलात्मक क्षमताका आधारमा निर्णायकहरूको मन जित्दै उहाँले उपाधि हात पार्नुभएको हो ।

काजलको जितलाई शिवपुरी मात्र नभई सम्पूर्ण नुवाकोट जिल्लाको गौरवको रूपमा हेरिएको छ । प्रतियोगिताअघि सामाजिक सञ्जाल फेसबुकमार्फत स्थानीयवासी र आफन्तलाई सहयोग र भोटको अपिल गर्नुभएकी तामाङले उपाधि जितेसँगै “शिवपुरीकी चेली पनि कम छैनन्” भन्ने सन्देश देशव्यापी रूपमा पुर्‍याउन सफल भएको स्थानीयवासीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्