सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु



सप्तरी, असोज ७ – सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। सोमबार साँझ नुहाउने क्रममा उनीहरू पोखरीमा डुबेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स्थानीय अरविन्द चौधरीको पोखरीमा सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी, केशर चौधरीकी ११ वर्षीया छोरी आश्की चौधरी र ८ वर्षीया प्रियान्सु चौधरी नुहाउन गएका थिए। सो क्रममा सुस्तिका र आश्कीको डुबेर मृत्यु भएको हो।

तीनै जना पोखरीमा नुहाउने क्रममा दुर्घटना भएपछि प्रियान्सुले घटनाबारे स्थानीयलाई जानकारी दिएकी थिइन्। त्यसपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेका थिए।

प्रियान्सु भने सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्