पाल्पामा झिनिया रोटी बनाउन उद्यमीहरूलाई भ्याई नभ्याई



पाल्पा, असोज ७ – हिन्दु नेपालीहरूको मुख्य चाडपर्व बडादसैँ, तिहार (दिपावली), छठ लगायतका उत्सवहरू नजिकिँदै गर्दा पाल्पामा नेवार समुदायको मौलिकता बोकेको झिनिया रोटी बनाउन उद्यमीहरूलाई भ्याई नभ्याई भएको छ।

पाल्पा सदरमुकाम तानसेनसँगै जिल्लाका ग्रामिण भेगसम्म नेवारी महिला दिदीबहिनीहरू दिनरात चामलको पिठोबाट झिनिया रोटी बनाउन व्यस्त छन्। पहिले–पहिले नेवार समुदायका जात्रा, पर्व, शुभकार्य र उत्सवमा मात्र प्रसादका रूपमा प्रयोग हुने यो रोटी आजभोलि अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ।

तानसेनकी व्यवसायी शकुन्तला बज्राचार्यका अनुसार बाहुन, क्षेत्री, मगरलगायतका समुदायले पनि झिनिया रोटीलाई प्रयोगमा ल्याउन थालेपछि यसको माग निकै बढेको छ। पछिल्लो समय यो रोटी खाजाका रूपमा समेत उपभोग हुने गरेको उनले बताइन्।

तानसेनको टक्सारटोल, बगनासकाली गाउँपालिकाको पोखरा थोक, माथागढी गाउँपालिकाको सराई र रामपुर नगरपालिकाको बेझाड बजारमा समेत व्यावसायिक रूपमा झिनिया रोटी उत्पादन भइरहेको छ।

चामलको पिठोलाई पानी मिसाई विभिन्न रङ दिएर हाते मेसिनमार्फत तयार पारिने झिनिया रोटी हेर्दा आकर्षक मात्र नभई देवीदेवतालाई चढाउने चोखो प्रसादका रूपमा पनि महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस्