काभ्रेमा दसैँभर टिपर सञ्चालनमा प्रतिबन्ध



काभ्रे, असोज ६ – जिल्ला प्रशासन कार्यालय काभ्रेले आगामी दसैँ पर्वभर जिल्लामा मालवाहक सवारीसाधन टिपर सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको गत भदौ ३० गतेको निर्णयअनुसार असोज ६ गतेदेखि असोज २२ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइने कार्यालयले सार्वजनिक अपिलमार्फत जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठद्वारा जारी अपिलमा यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ।

यो अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गर्ने जो कोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ। तर, अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनमा भने यो नियम लागू नहुने जनाएको छ।

काभ्रेपलाञ्चोकस्थित अरनिको, बीपी र हेलम्बु राजमार्ग तथा पनौती–बनेपा सडकखण्डमार्फत दैनिक करिब २ हजार ५०० टिपर संघीय राजधानी काठमाडौंलगायतका स्थान आउजाउ गर्ने गरेका छन्। स्थानीय प्रशासनले पछिल्ला दुई वर्षदेखि दुर्घटना न्यूनीकरण र सर्वसाधारणको सुरक्षाका लागि टिपरलाई राति मात्र सञ्चालन गर्न अनुमति दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्