शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक दरबन्दी



काठमाडौं,असोज ७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशभरका सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिनुभएको छ।

शिक्षामन्त्रीको पदभार ग्रहण गरेको दोस्रो दिनै मंगलबार उहाँले सामुदायिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यस्तो निर्देशन दिनुभएको हो।

मन्त्री पुनको निर्देशनमा भनिएको छ, “नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीलाई कम्प्युटर शिक्षाको पहुँच दिलाउन हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य थप्नुपर्नेछ।”

उहाँले मंगलबार तत्काल लागू गर्नुपर्ने भन्दै तीनवटा निर्देशन जारी गर्नुभएको छ। ती निर्देशनअनुसार विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गरेको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्नेछ। समयमा नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने व्यवस्था मिलाउन पनि उहाँले निर्देशन दिनुभएको छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्र रहेका रुखहरू काट्न नहुने र झाडी फाँडेर सुन्दर बगैंचासहितको फुटपाथ निर्माण गर्नुपर्ने निर्देशन समेत उहाँले दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्