भीषण सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



चितवन, असोज ८ – मंगलबार तुइनखोलामा खसेको भीषण सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द भएको छ। लगातार ठूलो पहिरो खस्ने क्रम जारी रहेकाले चितवन जिल्ला प्रशासन कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

विगत केही दिनदेखि सो सडकखण्डमा पटक–पटक पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको थियोे । मंगलको पहिरोपछि भने सडक पूर्ण रूपमा ठप्प भएको छ।

चितवन प्रशासनका अनुसार काठमाडौँ जाने साना सवारीसाधनका लागि जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने बाटो प्रयोग गर्न सकिनेछ। यसैगरी, धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथ, हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो तथा हेटौँडा–काठमाडौँका लागि ठूला सवारीसाधन मात्र कान्तिलोकपथ प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ।

त्यसैगरी, चितवनबाट पोखरा जान ठूला तथा साना दुवै सवारीसाधन बुटवल मार्ग हुँदै पुग्न सकिनेछ भने कालीगण्डकी करिडोर (सानो गाडी मात्रै) गैँडाकोट–पाल्पा रामपुर–भिमाद हुँदै तनहुँ पुग्न सकिने व्यवस्था गरिएको छ।

प्रशासनले यात्रु तथा सवारीधनीलाई असुविधा भए पनि सुरक्षित यात्रा सुनिश्चित गर्न वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्