दसैँयात्रीको चहलपहल : पछिल्लो ६ दिनमा २ लाख ३२ हजारभन्दा बढी उपत्यकाबाट बाहिरिए
काठमाडौँ, असोज ८ – दसैँ नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ। पछिल्लो ६ दिनमा मात्र २ लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुका अनुसार मंगलबार मात्रै ४३ हजार १२४ यात्रु उपत्यका छाडेका थिए। उहाँका अनुसार भदौ ३१ गते ३४ हजार ५५६, असोज १ गते ३६ हजार १००, असोज २ गते ४० हजार ५५५, असोज ३ गते ३४ हजार ८७९ र असोज ४ गते ४३ हजार १२४ जना यात्रु बाहिरिएका थिए।
यता उपत्यका भित्रिनेको संख्या भने अपेक्षाकृत कम देखिएको छ। भदौ ३१ गते ३० हजार ५७४, असोज १ गते ३० हजार ४२२, असोज २ गते ४० हजार ९४, असोज ३ गते ३४ हजार ८७९ र असोज ४ गते २८ हजार ८९६ जना मात्रै उपत्यका भित्रिएका थिए।
डीएसपी सिंहका अनुसार यस वर्ष सडक अवस्था राम्रो नहुँदा उपत्यकाबाट बाहिरिनेको संख्या विगतका वर्षभन्दा कम भएको छ।

