दशैं लक्षित सुपथ बजार हेटौँडामा सञ्चालन, १५ स्टलमार्फत उपभोक्तालाई राहत



मकवानपुर, असोज ८– मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गर्दै सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ। संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सुपथ बजार सञ्चालन गर्ने निर्णय गरेको थियोे ।

मंगलबार संघले हेटौँडा–२ स्थित पल्पसा सदनको प्राङ्गणमा सुपथ बजारको उद्घाटन गरेको छ। बजारमा १५ वटा स्टल राखिएको छ, जहाँ उपभोक्ताले दैनिक उपभोग्य सामग्रीहरू थोक मूल्यमै किन्न सक्नेछन्। स्टलमा चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठो लगायतका सामग्री उपलब्ध छन्।

संघका कार्यकारी निर्देशक सुजन सुवेदीका अनुसार बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सुपथ बजार सञ्चालन हुनेछ। माग र कारोबारको आधारमा ११ गतेपछि पनि बजारलाई थप दिनसम्म निरन्तरता दिने सम्भावना रहेको उनले जानकारी दिए।

दशैंको मुखमा कालोबजारी नियन्त्रण गर्दै उपभोक्तालाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले सुपथ बजार सञ्चालन गरिएको संघका पदाधिकारीहरूले बताएका छन्। अधिकृत बिक्रेता व्यवसायी संघ मकवानपुरको संयोजनमा सञ्चालित यस बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू पनि बिक्री गरिनेछन्।

संघले वर्तमान आर्थिक चुनौतीलाई दृष्टिगत गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ बजार सञ्चालन गरिएको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्