नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन अझै अनिश्चित, चाडपर्वमा सहज यात्राको आशा अपूर्ण
काठमाडौँ, असोज ८ । दसैँ र तिहारमा यात्रुहरूको सहज आवागमनका लागि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने भनिए पनि अझै टुङ्गो लागेको छैन । दसैँ सुरु भएको दुई दिन भइसके पनि सुरुङमार्ग सञ्चालनमा ल्याउने विषयमा सरकार, निर्माण कम्पनी र परामर्शदाता कम्पनीबीच सहमति नजुटेका कारण आमनागरिकको अपेक्षा अधुरो बनेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले असोज ४ गते मन्त्रालयमा बसेको बैठकमार्फत दसैँ र तिहारलाई लक्षित गर्दै सुरुङमार्ग खोल्ने निर्देशन दिए पनि आवश्यक तयारी अधुरो रहेकाले तत्काल सम्भव नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सचिव ई. केशवकुमार शर्माका अनुसार सुरुङमार्ग प्रयोग गर्न सकिने अवस्था भए पनि निर्माण कम्पनी र परामर्शदाता कम्पनीले सुरक्षा चुनौती देखाउँदै असहमति जनाएका छन् । “तयारी पूरा नहुँदै सञ्चालन गर्दा दुर्घटना, उद्धारको समस्या, आक्सिजनको कमी जस्ता जोखिम हुन सक्ने भएकाले उनीहरूले स्वीकृति दिएका छैनन्,” सचिव शर्माले भन्नुभयो ।
सुरुङमार्ग आयोजनाका प्रमुख ई. सञ्जय पन्थीले समेत निर्माण कम्पनीको स्वीकृतिबिना सञ्चालन गर्न नमिल्ने बताए । “सम्झौताअनुसार हस्तान्तरण नगरेसम्म सम्पूर्ण अधिकार निर्माण कम्पनीकै हुन्छ । जबरजस्ती सञ्चालनमा ल्याएमा दुर्घटना वा क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले बेहोर्नुपर्ने हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।
गत वर्ष असोजमा नागढुङ्गा–नौबिसे सडकखण्डमा पहिरो खसेपछि केही समय उद्धारका लागि सुरुङमार्ग प्रयोग गरिएको थियो । तर नियमित सञ्चालनका लागि आवश्यक संरचना परीक्षण र फिनिसिङ अहिलेसम्म जारी छ ।
आयोजना प्रमुख पन्थीका अनुसार सुरुङमार्गको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत पुगेको छ । आगामी पुस मसान्तसम्म निर्माण पूरा गरेर सरकारले औपचारिकरूपमा ग्रहण गरेपछि मात्र सुरुङमार्ग नियमित सञ्चालनमा आउन सक्ने उनले जानकारी दिए । त्यसपछि सञ्चालन जिम्मा लिन ठेक्का कम्पनी चयन गरिने र सम्पूर्ण जोखिमको जिम्मेवारी सो कम्पनीकै हुने छ ।
यसरी, यात्रुहरूले यसपटक पनि चाडपर्वमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने आशा अधुरो राख्नुपर्ने भएको छ ।

