कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जना घाइते
कपिलवस्तु, असोज ८ । कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस सोमबार बिहान दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा करिब ३५ जना यात्रु सवार रहेकोमा १० जना घाइते भएका छन् । उनीहरूको चन्द्रौटा स्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आइनसकेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

