म्यानमारका करिब दुई सय नागरिकसँग नेपाली पासपोर्ट, छानबिन सुरु
काठमाडौं, असोज ८ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) पुगेका म्यानमारका करिब दुई सय नागरिकसँग नेपाली पासपोर्ट रहेको तथ्य सार्वजनिक भएको छ । उनीहरूले कसरी नेपाली पासपोर्ट लिए भन्ने विषयमा छानबिन सुरु भएको अध्यागमन विभागले जनाएको छ ।
मंगलबार अध्यागमन विभागको पहलमा नौ देशका राजदूत तथा सहचारीसहितको भर्चुअल छलफलमा यस्तो तथ्य उजागर भएको हो । छलफलमा जेन–जी आन्दोलनले वैदेशिक रोजगारी क्षेत्रमा पार्न सक्ने प्रभाव र विदेशमा नेपालको छवि सुधारबारे उपाय खोजिएको थियो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार यसबारे अझै स्पष्ट प्रमाण प्राप्त भएको छैन । “छलफलका क्रममा दुई सयजना म्यानमारका नागरिक नेपाली पासपोर्टमा छन् भन्ने कुरा आएको छ, यसमा प्रस्ट प्रमाण भेटिएको छैन । पासपोर्ट नै नक्कली हो वा के हो बुझ्ने काम भइरहेको छ,” महानिर्देशक तिवारीले बताउनुभयो ।
छलफलमा युएई, कतार, ओमन, कुवेत, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुकमा रहेका नेपाली राजदूत र श्रम सहचारी, साथै मलेसिया र थाइल्यान्डका राजदूतसमेत सहभागी थिए । त्यस्तै गृह, परराष्ट्र, श्रम मन्त्रालय, कन्सुलर सेवा विभागका पदाधिकारीहरूको पनि उपस्थिति थियो ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार बैठकमा वैदेशिक रोजगारी क्षेत्रका १८ वटा मुद्दामा छलफल भएको थियो । वैदेशिक रोजगारको क्षेत्रमा देखिएको कुशासन हटाउनेदेखि भिजिट भिसासम्बन्धी नियमलाई समयसापेक्ष परिमार्जन गर्ने विषयमा पनि सहमति भएको छ ।

