नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने
चितवन, असोज ८ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा मङ्गलबार दिउँसो ४ः३० बजे खसेको भीषण पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने जनाइएको छ । बुधबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ भने थप सहयोगका लागि दमौलीबाट अर्को स्काभेटर समेत मगाइएको छ । सडकको करिब १६० मिटर भाग पहिरोले ढाकेको छ । लामिछानेले माथिबाट ठूला पहिरो झर्ने सम्भावना न्यून भए पनि अझै साना तथा मझौला ढुङ्गा खस्न सक्ने भएकाले जोखिम कायम रहेको बताउनुभयो ।
गत शुक्रबारदेखि नै सो क्षेत्रमा निरन्तर पहिरो खस्दै आएको छ । बीचबीचमा पहिरो पन्छाएर केही समय सवारी सञ्चालन भए पनि मङ्गलबार साँझदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको हो । सडक बन्द हुँदा ठूलो सङ्ख्यामा मालवाहक सवारीसाधन लामबद्ध भएका छन् भने यात्रुवाहक सवारीहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।
डिभिजन सडक कार्यालय चितवनले सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार चितवनको जुटपानी–शक्तिखोर–मायाँटार हुँदै धादिङको मलेखु पुग्न सकिने, त्रिभुवन राजपथ हुँदै नौबिसेबाट हेटौँडा निस्कन सकिने, हेटौँडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली मार्ग प्रयोग गर्न सकिने छ । त्यस्तै, ठूला सवारीसाधनले पूर्वतर्फबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा–गिंगन–भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो पुग्न सक्ने र पोखरा जाने सवारीसाधनले बुटवलमार्ग प्रयोग गर्न सक्ने कार्यालयले जनाएको छ । कालीगण्डकी कोरिडोरमार्ग पनि सानो गाडीका लागि वैकल्पिक बाटोका रूपमा खुला रहेको जानकारी दिइएको छ ।
कार्यालयले पहिरो पूर्ण रूपमा पन्छिएर सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

