डा. बाबुराम भट्टराईको राजीनामा, समाजवादी पार्टी विशेष महाधिवेशनमा जाने



काठमाडौँ, असोज ८ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

नेता भट्टराईले जेनजी (नयाँ पुस्ता)को आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँदै आएको धारणा राजीनामा प्रस्तावमा समेत समावेश गरेका छन्। उनले बुधबार काठमाडौँमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा बुझाएका हुन्।

बैठकले तत्कालीन केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ। महाधिवेशन तयारीका लागि आयोजक कमिटी गठन गरिएको छ, जसको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोकिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

गत भदौ २३ र २४ गते भएको नयाँ पुस्ता (जेनजी) आन्दोलनले राजनीतिक दलहरूलाई नेतृत्व परिवर्तनको सन्देश दिएको बताइन्छ। सो आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको शपथग्रहणमा पूर्वप्रधानमन्त्री भट्टराईले सहभागी भई बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस्