त्रिभुवन विमानस्थलमा भारतीय नागरिक सुनसहित पक्राउ
काठमाडौँ, असोज ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ८३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
इण्डिगो एयरको मुम्बई–काठमाडौँ उडानमार्फत आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शंका लागेपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा भिडियो एक्सरे गरिएको थियो। जाँचका क्रममा उनको मलद्वारभित्र तीन वटा डल्लामा राखिएको सो परिमाणको पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मदनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

