मुस्ताङको घमी खोला पुल सात वर्षदेखि अलपत्र, यातायातमा समस्या



मुस्ताङ, असोज ९ । उत्तर/दक्षिण व्यापारिक मार्गअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामार्फत निर्माणाधीन लोघेकर दामोदरकुण्ड–२ स्थित घमी खोला पक्की पुल सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।

२०७५ पुस १६ गते रु ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीसँग ठेक्का सम्झौता गरिएको पुल २०७८ पुस ९ गते सम्पन्न गर्ने योजना थियो। तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थपिँदै आए पनि पुल अलपत्र बनेको हो।

४० मिटर लम्बाइ र ११ मिटर चौडाइ (फुटपाथ र नालीसहित) हुनेगरी सम्झौता भएको पुलको पछिल्लो भौतिक प्रगति ७५ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी बाबुसाहेवकुमार बैठाले जानकारी दिनुभयो। पुलको दायाँबायाँ फाउन्डेसन ढलान र सटिङसम्मको काम सकिएको भए पनि बाँकी काम अघि बढ्न सकेको छैन।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, कम्पनीले चासो देखाए दुई महिनाभित्र पुल पूरा गर्न सकिने भए पनि हालसम्म प्रगति नभएकोले उपल्लो मुस्ताङसम्मको यातायातमा समस्या भइरहेको छ। विशेषगरी मालवाहक कन्टेनर र विद्युतीय सवारी साधनलाई कठिनाइ भएको उनको भनाइ छ।

यसअघि २०७९ सालमा निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसनका रूपमा लिएको रु ७० लाख ५० हजार रकम आयोजना कार्यालयले फिर्ता लिएको थियो। पछिल्लो थपिएको म्यादसमेत सकिँदै गएपछि अब २०० दिनको अतिरिक्त समय दिइएको र जरिवाना तोकिएको सूचना अधिकारी बैठाले बताए।

निर्माण कम्पनीले तोकिएको म्यादभित्र काम सम्पन्न नगरे ठेक्का धरौटी जफत गरी सम्झौता तोड्ने प्रक्रिया अघि बढाइने आयोजनाले चेतावनी दिएको छ।

जोमसोम–कोरला सडकमार्गका अधिकांश खोलानदीमा पक्की पुल निर्माण भइसकेको भए पनि घमी खोला पुल अलपत्र रहँदा बहुचर्चित उत्तरी कोरला नाकासम्म पहुँचमा अवरोध कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्