नेपालगन्जमा नियन्त्रणमा लिइएका चोरबाट दुई हजारभन्दा बढी गोलीका खोका बरामद
नेपालगन्ज, असोज ९ । बाँकेको नेपालगन्जमा स्थानीयले नियन्त्रणमा लिएका एक भारतीय चोरसँग दुई हजारभन्दा बढी गोलीका खोका बरामद भएको छ।
गत आइतबार बिहान स्थानीयवासीले नियन्त्रणमा लिएका चोरसँग बरामद भएको २ हजार ९७ थान गोलीका खोकाको बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीका अनुसार, गोलीका खोकाबारे प्रारम्भिक तथ्य खुले पनि अहिले विस्तृत अनुसन्धान जारी रहेकाले सबै विवरण सार्वजनिक गर्न नसकिएको हो। उनले औद्योगिक क्षेत्रबाट चोरी गरिएको भन्ने खुलासा भए पनि कुन उद्योग क्षेत्र भन्ने विषय खुलेको छैन भने।
घटना शुक्रबार राति नेपालगन्ज–३ एकलैनी क्षेत्रमा सुरु भएको थियो। त्यहाँ धम्कीपूर्ण पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एकजनालाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
वडा नम्बर ३ का अध्यक्ष अय्युब सिद्दिकीका अनुसार, नियन्त्रणमा लिएका चोरको खानतलासी गर्दा बोरा भित्र २ हजार ९७ गोलीका खोका र केही औजार फेला परेको हो।
प्रहरीले हाल नियन्त्रणमा लिइएका व्यक्तिबाट थप जानकारी संकलन गरिरहेको र यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

