कञ्चनपुरका विपिन जोशीको रिहाइका पहलका लागि आमा र बहिनी अमेरिका प्रस्थान
कञ्चनपुर,असोज ९ । कञ्चनपुरका विपिन जोशीलाई हमासको कब्जाबाट सकुशल मुक्त गराउन पहल गर्ने उद्देश्यले विपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ।
दाइको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमासहित अमेरिका जान लागेको पुष्पाले जानकारी दिनुभयो। “यसअघि इजरायल गएकै जस्तो यो पटक पनि अन्तर्राष्ट्रिय मञ्चमा दाइको रिहाइका लागि आवाज उठाउने योजना हो,” उहाँले भन्नुभयो। साथै अन्य देशका नागरिकलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गर्नुभएको छ।
यसअघि पनि इजरायल सरकारले विपिनकी आमा र बहिनीलाई इजरायल लगेरे अन्तर्राष्ट्रिय पहल गरेको थियो। यसपटक भने संयुक्त राष्ट्रसंघसम्म आवाज पुर्याउने उद्देश्यले इजरायलको सहयोगमा अमेरिका जान लागिएको जनाइएको छ।
गत शनिबार हमासले विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो। परिवारका सदस्यले उक्त तस्बिर इजरायलको आक्रमणलाई समर्थन गर्ने दबाब सिर्जना गर्ने उद्देश्यले सार्वजनिक भएको हुनसक्ने आशंका गरेका छन्।
“कतारलगायतका देशसँग सरकारले पहल गरे रिहाइ सम्भव थियो भन्ने लाग्छ,” विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “अब सरकार अझ सक्रिय भएर छोराको रिहाइका लागि काम गरोस् भन्ने हाम्रो माग छ।”
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थीहरू गत हमास आक्रमणमा परेका थिए। उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन हमासको कब्जामा परेका थिए।

