दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना
काठमाडौँ,असोज ९। आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन आज देशभर नौ दुर्गामध्येकी चौथी देवी कुष्माण्डाको विधिपूर्वक पूजा–आराधना हुँदैछ।
शास्त्रीय मान्यताअनुसार कुष्माण्डा देवीले भक्तजनलाई आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका तापबाट मुक्त गरिदिने विश्वास छ। पुराणहरूमा उहाँलाई सुराले भरिएको घडा र रगतयुक्त पात्र धारण गर्ने शक्तिशाली देवीका रूपमा वर्णन गरिएको छ। श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा संसारको त्रिविध तापलाई आफ्नो उदरमा समेट्ने भगवती नै कुष्माण्डा भएको उल्लेख पाइन्छ।
यसअघि असोज ६ गते सोमबार घटस्थापनासँगै पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा सम्पन्न भएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको विशेष आराधना भइरहेको छ।
नवरात्रका अवसरमा घटस्थापनास्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्रहरूको पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना गर्नेले शक्ति, ऐश्वर्य र विद्या प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ। प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइने प्रचलन छ। यसरी नेपालीहरूले करिब १५ दिनसम्म बडादशैं पर्व मनाउने गर्छन्।
शास्त्रीय विधिअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ।
नवरात्रका दिन देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकामा गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायतका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
यस्तै उपत्यकाबाहिर पनि पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा लगायतका शक्तिपीठहरूमा भक्तजनको भीड देखिएको छ।

