मुग्लिन-नारायणगढ सडक खण्ड ३९ घण्टादेखि अवरुद्ध



चितवन,असोज ९। मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला पुल नजिक खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ। मंगलबार दिउँसो खसेको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो।

हिजो साँझदेखि लगातारको वर्षाले पहिरो पन्छाउने काम अवरुद्ध भएपछि आज बिहान पुनः सुरु गरिएको हो। सडक डिभिजन कार्यालयका अनुसार पहिरो पूर्ण रूपमा हट्न कति समय लाग्छ भन्ने यकिन नभएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

हाल साना सवारीसाधनका लागि तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने बाटो प्रयोग गर्न सकिने जनाइएको छ।  दमौली–खैरेनीटार–भीमाद–मानपुर–डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट हुँदै नारायणगढ पुग्न सकिने यस मार्गलाई गण्डकी प्रदेश सरकारले गौरवको योजना अन्तर्गत निर्माण गरिरहेको छ।

यसअघि गत शुक्रबार साँझ खसेको पहिरोका कारण करिब ४६ घण्टा मुग्लिन–नारायणगढ सडक बन्द भएको थियो। त्यसयता पनि स–साना पहिरो खसिरहँदा दशैं मनाउन घर फर्कने यात्रुहरू मारमा परिरहेका छन्।

यसैबीच, हिजो साँझ अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड आज बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा पहिरो खस्दा बाटो बन्द भएको थियो। यता, काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्ग धार्के–सितापाइला सडक भने अझै सञ्चालनमा आउन सकेको छैन। हिजो राति ८ बजे ठूलो खोला नजिक खसेको पहिरो अहिलेसम्म पन्छाउन नसकिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्