नुवाकोट दुप्चेश्वरको माथिल्लो क्षेत्रमा टेलिकम नेटवर्क अवरुद्ध, नागरिक सम्पर्क विच्छेद
नुवाकोट,असोज ९ । चाडपर्व सुरु भएसँगै नुवाकोटमा नेपाल टेलिकमको नेटवर्क समस्या देखिएको छ। विशेषगरी दुप्चेश्वर गाउँपालिका वडा नम्बर १, २, ३ र ४ लगायतका माथिल्लो क्षेत्रमा बुधबारदेखि टेलिकमको नेटवर्क पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय नागरिक सम्पर्क विच्छेदमा परेका छन्।
दुप्चेश्वर–४ का वडाध्यक्ष ज्ञानबहादुर तामाङका अनुसार दुई दिनयता मोबाइल नेटवर्कले काम नगरेपछि आपतकालीन सम्पर्कसमेत कठिन बनेको छ। “चाडबाडको बेला कतै बाहिर गएकासँग सम्पर्क गर्नै नसक्दा नागरिकहरू थप समस्यामा परेका छन्,” उहाँले भन्नुभयो।
यता नेपाल टेलिकम त्रिशुली शाखाले भने यसबारे आधिकारिक जानकारी नआएको बताएको छ। शाखाका पुरुषोत्तम अर्यालका अनुसार तत्कालै समस्या के कारण आएको हो भन्ने बुझ्ने प्रयास भइरहेको छ। “बुझाइ सकिएपछि शीघ्र मर्मत गरी सेवा सुचारु गर्ने पहल गरिनेछ,” उहाँले जानकारी दिनुभयो।
स्थानीय बासिन्दाले नेटवर्क ठप्प हुँदा बालबालिकादेखि वृद्धवृद्धासम्म आपतकालीन समयमा समस्यामा परेको बताउँदै टेलिकमले छिट्टै सेवा सुधार गर्न माग गरेका छन्।

