मुग्लिन–नौविसे सडकखण्ड सञ्चालनमा, तुइनखोलाको सडक अझै अवरुद्ध



धादिङ,असोज ९ । मुग्लिन–नौविसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा खसेको पहिरो पन्छाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ। बुधबार राति ९ बजे ठूलो पहिरो खस्दा दुईतर्फी यातायात बन्द भएकोमा रातभर निरन्तर काम गरेपछि बिहीबार बिहानैदेखि गाडी सञ्चालनमा आएको हो।

मुग्लिन–नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालका अनुसार हाल दुईतर्फी नै सवारी सञ्चालनमा आएको छ। तर, यस खण्डमा फेरि पहिरो खस्ने जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउन चालक र यात्रुलाई आग्रह गरिएको छ।

यता, मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मंगलबारदेखि अवरुद्ध भएको सडक भने अझै खुलेको छैन। बुधबारदेखि नै पहिरो पन्छाउने काम सुरु भए पनि ठूलो मात्रामा माटो र ढुंगामाट्टी खसेका कारण काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो।

तुइनखोलाको सडक अवरुद्ध हुँदा मुग्लिनमा रोकिएका सवारी साधनले पोखरा–काठमाडौँ यात्रामा ठूलो कठिनाइ व्यहोर्नु परेको छ। जामका कारण यात्रु मारमा परेका छन् भने, ट्राफिक नियम विपरीत सवारी साधन रोकिँदा अव्यवस्था थपिएको छ। मुग्लिन प्रहरीले सवारी साधनलाई व्यवस्थित गर्दै सहज आवागमनका लागि प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्