भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प, ठूलो क्षति भने भएन
भेनेजुएला,असोज ९ । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट करिब १४ किलोमिटर टाढा र २७ किलोमिटर गहिराइमा रहेको थियो।
यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिने भए पनि राजधानी काराकस (केन्द्रविन्दुबाट करिब ६०० किलोमिटर टाढा) मा समेत कम्पन महसुस गरिएको थियो। भवनहरू हल्लिएपछि धेरै बासिन्दा त्रसित भई बाहिर निस्किएको एएफपीले उल्लेख गरेको छ।
युएसजिएसले यस भूकम्पपछि सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ। यसअघि केही घण्टा अघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प समेत महसुस गरिएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत अनुभव भएको थियो।
हालसम्म ठूलो क्षति वा जनहानिको खबर आएको छैन। गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प “उल्लेखनीय संरचनात्मक क्षति बिना” भएको जानकारी दिएका छन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भए पनि इतिहासमा प्राणघातक भूकम्पहरू भएका छन्। सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो भने सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब ३०० जनाको मृत्यु र २ हजार घाइते भएका थिए।

