मुस्ताङबाट भेडा–च्याङ्ग्राको ठूलो कारोबार, कृषक मेहनतअनुसार आम्दानीमा आशावादी
मुस्ताङ, असोज ९— दशैं नजिकिएसँगै मुस्ताङमा भेडा–च्याङ्ग्राको व्यापार चहलपहलसहित बढेको छ। यस वर्ष मात्र जिल्लाबाट ३६ करोड ५० लाख रुपैयाँभन्दा बढीको भेडा–च्याङ्ग्राको कारोबार भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।
कर्णालीका डोल्पा, मुगु र हुम्ला साथै तिब्बत हुँदै कोरला नाकाबाट ल्याइएका भेडा–च्याङ्ग्रासहित मुस्ताङका किसानहरूले पालेका भेडा–च्याङ्ग्रा बेचबिखन गरिएको हो। केन्द्रका प्रमुख डा. लालमणि अर्यालका अनुसार यसपटक ६७५ भेडा (च्यालुक) र ७ हजार २०१ च्याङ्ग्रासहित करिब १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा बाहिरिएका छन्।
लोमान्थाङ–१, छोसेरका कृषक आङ्ग्याल गुरुङले यसवर्ष मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढीको भेडा–च्याङ्ग्रा बिक्री गरेका छन्। गुरुङले भन्नुभयो, “मेहनत अनुसारको कमाइ छ, तर बजारबाट आउने व्यापारीले मनपरी मूल्य गर्दा च्याङ्ग्रापालक कृषक मारमा परेका छन्।”
सामान्यतया एउटा भेडा–च्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ देखि ५ वर्षसम्म पाल्नुपर्ने हुन्छ। चरन, खोप र गोठालोसहित अन्य खर्च धेरै लाग्ने भएकाले किसानले उत्पादनलाई बजारअनुरूप व्यवस्थापन गर्न कठिन भइरहेको उनीहरूको गुनासो छ। चरन क्षेत्र र गोठाला अभावले समेत उत्पादनमा असर पारेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कार्यालयका अनुसार जिल्लाभर १ सय सूचीकृत कृषकका गोठमा अहिले ५६ हजार च्याङ्ग्रा छन्। तिनमध्ये बिक्रीयोग्य च्याङ्ग्रा मात्रै बजारमा पठाइन्छ।
दशैंमा ठूलो मात्रामा बिक्री भइसके पनि तिहारका लागि करिब ४ देखि ५ हजार भेडा–च्याङ्ग्रा अझै बाहिरिने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा जडीबुटी खाएर हुर्किने भएकाले मुस्ताङका भेडा–च्याङ्ग्रा स्वादिष्ट र स्वास्थ्यका लागि लाभदायी हुने उपभोक्ताको विश्वास छ।

