प्रधानमन्त्री कार्कीको सम्बोधन : जेनजी आन्दोलनका दोषीमाथि कारबाही हुन्छ
काठमाडौं,असोज ९— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका दोषीमाथि सशक्त कारबाही गर्ने घोषणा गरेकी छिन्। राष्ट्रको नाममा सोमबार दिइएको पहिलो सम्बोधनमार्फत उनले देशलाई शान्ति, स्थिरता र लोकतान्त्रिक बाटोतर्फ अघि बढाउने दृढता प्रकट गरिन्।
प्रधानमन्त्री कार्कीले सम्बोधनमा २१ फागुनभित्र भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “अब ढिलाइको स्थान छैन, देशलाई लोकतान्त्रिक अभ्यासमार्फत नयाँ गन्तव्यमा पु-याउन सरकार जिम्मेवार भएर अघि बढ्छ।”
उनले जेनजी आन्दोलनका क्रममा भएका गतिविधि र घटनामा संलग्न दोषीमाथि छिट्टै सशक्त कारबाही हुने बताउँदै शान्ति र सुव्यवस्था कायम राख्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधनलाई राजनीतिक वृत्तले ‘दृढ सन्देश’ का रूपमा लिएको छ। विपक्षी दलहरूले समेत निर्वाचनको घोषणा र दोषीमाथि कारबाही गर्ने अठोटलाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन्।

