प्रधानमन्त्रीको सम्बोधन : निर्वाचनमा सहभागी हुन आग्रह, विदेशबाट मतदानको सम्भावना अध्ययन हुँदै
काठमाडौं,असोज ९— अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा व्यापक सहभागिता सुनिश्चित गर्न सबै राजनीतिक दल र नागरिकलाई आह्वान गरेकी छन्। राष्ट्रको नाममा शुक्रबार दिइएको सम्बोधनमा उनले संविधान संशोधन आवश्यक भएमा संवैधानिक विधिबाटै गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख लक्ष्य निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै त्यसका लागि तयारी तीव्र पारिएको जानकारी गराइन्। उनले विदेशमा रोजगारीका सिलसिलामा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिने सम्भावनाबारे निर्वाचन आयोगसँग परामर्श भइरहेको खुलासा गरिन्।
उनले भनिन्, “देश र जनताको भविष्य निर्वाचनसँग जोडिएको छ। त्यसैले सबै दल, नागरिक, युवापुस्तासहित विदेशमा रहेका नेपालीले पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुने वातावरण बनाउन सरकार गम्भीर छ।”
जेनजी आन्दोलनले उठाएका सुशासन र शासकीय प्रणालीका मुद्दा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शासकीय प्रणाली संशोधन वर्तमान सरकारको कार्यक्षेत्रबाहिरको विषय भए पनि संविधान संशोधन संवैधानिक प्रक्रियामार्फतै सम्भव हुने उल्लेख गरिन्।
त्यस्तै, उनले विगतका सरकारहरूमा देखिएका भ्रष्टाचारका घटनामा छोटो अवधिमै सरकार स्पष्ट जानकारीमा पुगेको भन्दै दोषीमाथि छानबिन गरी आवश्यक कारबाही अघि बढाइने प्रतिवद्धता जनाइन्।
प्रधानमन्त्री कार्कीको सम्बोधनलाई आगामी निर्वाचनमा जनसहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

