अनलाइन सञ्चारमाध्यम दर्ता खुला, सूचना विभागलाई स्थानीय अधिकारी तोकियो
काठमाडौं,असोज ९ — सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता खुला गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
यसअघि काँग्रेस–एमाले सत्ता गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकारले गत साउन १ गतेदेखि अनलाइन दर्ता तथा नवीकरण प्रक्रिया बन्द गरेको थियो। सो निर्णयका कारण विभिन्न नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता हुन नसकेका र सञ्चालनमा रहेका माध्यमहरूले पनि नवीकरणमा समस्या भोग्नुपरेको थियो।
मन्त्री खरेलका अनुसार अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता र पुराना माध्यमहरूको नवीकरण कार्य पुनः नियमित रूपमा अगाडि बढ्नेछ। उनले यस कदमले सञ्चार क्षेत्रलाई सहज बनाउने विश्वास व्यक्त गरे।

