नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, दुई दिनदेखि रोकिएका सयौँ सवारी गन्तव्यतर्फ
चितवन,असोज १० — नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ। मङ्गलबार दिउँसो खसेको पहिरो करिब दुई दिन लगाएर पन्छाएपछि बिहीबार राति बाटो सञ्चालनमा आएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ।
कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजे अवरुद्ध भएको सडक निरन्तर प्रयासपछि सञ्चालनमा ल्याइएको हो।
सडक खुल्नासाथ रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको पहिरोका कारण एक सातादेखि मालबाहक सवारी साधन रोकिएका थिए। यात्रुवाहक केही सवारी भने सडक आंशिक रूपमा खुल्दा कठिनाइका बीच पार हुँदै आएका थिए।
यो सडक खण्ड हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गरेका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरूलाई दशैं नजिकिँदै गर्दा थप समस्या भएको थियो।

