नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा–आराधना



काठमाडौं,असोज १० । बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। स्कन्दकुमारकी आमा भएकीले दुर्गाको यो रूपलाई स्कन्दमाता नामकरण गरिएको हो।

गोरो वर्ण र चार हात भएकी स्कन्दमाताको काखमा ६ मुख भएका कुमार स्कन्द विराजमान छन्। मातृरूप तथा कल्याणकारी स्वरूप मानिने देवी स्कन्दमाता कमलासनमा विराजमान हुने भएकाले पद्मासना देवीका नामले पनि चिनिन्छिन्।

नवरात्रमा प्रत्येक दिन एक देवीको आराधना गर्ने परम्परा रहेको छ। घटस्थापनादेखि सुरु भएको नवरात्रमा भक्तजनले पूजा कोठा वा विभिन्न शक्तिपीठमा गई दुर्गाका स्वरूपहरूको आराधना गर्ने गर्छन्।

धार्मिक ग्रन्थहरूमा वर्षमा चार नवरात्र पर्ने उल्लेख भए पनि शरद ऋतुमा पर्ने यो नवरात्रलाई विशेष महत्वका साथ मनाइन्छ। यस अवधिमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्