निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गर्यो
काठमाडौं,असोज १०। निर्वाचन आयोगले आगामी निर्वाचन लक्षित गर्दै मतदाता नामावली सङ्कलन सुरु गरेको छ। सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेको भोलिपल्टै आयोगले यो प्रक्रिया अघि बढाएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा पुगेर नामावलीमा दर्ता गराउन सक्नेछन्। नाम दर्ताका लागि आयोगले २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ।
भट्टराईले कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने भएकाले सो मिति अघि नामावली दर्ता अनिवार्य गर्नुपर्ने बताएका छन्। नाम दर्ता सार्वजनिक बिदा बाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म गर्न सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते हुने मिति तोकेका छन्।

