फार्मेसीमार्फत औषधि वितरणमा लापरबाही, बिरामीको स्वास्थ्य जोखिममा
काठमाडौँ, असोज १० । मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी। दाँत दुखाइदेखि पेट दुखाइ, ज्वरो, खोकी वा टाउको दुखाइसम्मका सामान्य समस्यामा मानिसहरू पहिले फार्मेसी पुग्ने गरेका छन्। तर, फार्मेसीमा फर्मासिस्टले बिरामीको रोगको पहिचान नगरी औषधि थमाउने प्रवृत्तिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम बढिरहेको छ।
भक्तपुरकी मेनुका शर्मा दाँत दुखाइ लिएर फार्मेसी पुग्दा फर्मासिस्टले चिकित्सककहाँ पठाउनुभन्दा एन्टिबायोटिक, पेनकिलर, महँगो मञ्जन र कुल्ला गर्ने झोलसहित १,१८० रुपैयाँ बराबरको औषधि थमाइदिए। त्यस्तै, धनगढीका एक युवा खुट्टा दुखाइका कारण बारम्बार पेनकिलर सेवन गर्दा अन्ततः मिर्गौला फेल भएको घटना बाहिर आएको छ।
विशेषज्ञहरूका अनुसार यस्तो अवस्था औषधि र स्वास्थ्यसम्बन्धी अपर्याप्त ज्ञान, कमजोर काउन्सिलिङ र नियमन निकायको लापरबाहीका कारण भइरहेको हो। औषधी व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलले नियमन गर्नुपर्ने भए पनि व्यवहारमा प्रभावकारी काम गर्न सकेका छैनन्।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजङ्ग पाण्डेले एन्टिबायोटिक र पेनकिलर जस्ता औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने भए पनि कानुन कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो। “कानुन कार्यान्वयनमा फर्मासिस्ट र बिरामी दुवैको भूमिका महŒवपूर्ण हुन्छ,” उहाँले भन्नुभयो। काउन्सिलका रजिस्ट्रार सञ्जीवकुमार पाण्डेयले गुणस्तरीय औषधिको प्रयोगमा जोड दिँदै गलत अभ्यास गर्ने फार्मेसीविरुद्ध उजुरी दिन आग्रह गर्नुभयो।
नेपाल औषधी उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले पेसागत त्रुटि रोक्न लाइसेन्स वितरणमा कडाइ गर्नुपर्ने र त्रुटि गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। नेपालमा हाल १५ हजार ९४० फार्मेसी सहायक र आठ हजार ५३ स्नातक फर्मासिस्ट कार्यरत छन्।
यसैबीच, हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइने विश्व फर्मासिस्ट दिवस बिहीबार नेपालमा पनि ‘स्वास्थ्य सोच्दा, फर्मासिस्ट सम्झनुहोस्’ भन्ने नारासहित विभिन्न कार्यक्रमका साथ मनाइएको छ।

