देशभर मौसम सामान्य रहने
काठमाडौँ, असोज १० । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको र स्थानीय वायुको आंशिक प्रभाव मात्रै परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका अधिकांश भागमा मौसम सफा रहनेछ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशसहित पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ।

