दशैंमा चिउराको माग ५० प्रतिशतले घट्यो, भक्तपुरका व्यवसायी चिन्तित



भक्तपुर, असोज १० । दशैंलाई प्रमुख चाडपर्वका रूपमा मनाइने भए पनि यस वर्ष भक्तपुरका चिउरा व्यवसायीले चिउराको माग आधा घटेको गुनासो गरेका छन्। विगत वर्षको तुलनामा करिब ५० प्रतिशतले बिक्री घटेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायी दिनेशप्रसाद काफ्लेका अनुसार भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन र बजारमा नगद अभाव हुनुले माग घट्न सक्छ। “उत्पादन स्थलमा भने ग्राहकहरू सिधै मिलमै आएर चिउरा किन्ने क्रम बढेको छ,” काफ्लेले बताए।

स्थानीय उपभोक्ता रामशरण ढकालले पनि मिलमै गएर ताजा चिउरा लिन थालेको अनुभव सुनाए। “पसलमा धेरै दिन स्टोरमा राखिएको चिउरा नमीठो हुने भएकाले परिवारको रोजाइ मिलको ताजा चिउरा नै हो,” उनले भने। अर्का उपभोक्ता कमलप्रकाश वनले मिलमा पाइने चिउरा गुणस्तरीय मात्र नभई बजारको तुलनामा किफायती हुने भएकाले आफू वर्षौंदेखि मिलमै आउने गरेको बताए।

परम्परागत परिकारको रूपमा चिउराले दशैंमा विशिष्ट स्थान ओगट्दै आएको छ। मासु, तरकारी, दही, दूध वा केरा जस्ता परिकारसँग सजिलै खाने, पकाउन नपर्ने र भण्डारण गर्न सहज भएकाले विशेषगरी शहरमा यसको खपत उच्च हुने गरेको छ। तर यस वर्ष माग घट्दा व्यवसायीहरू भने चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्