नुवाकोट तादीको सुन्दरा माविलाई थपलिया दम्पतीको खेलकुद सामग्री सहयोग



नुवाकोट, असोज १० । नुवाकोट जिल्लाको तादी गाउँपालिका–४ सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयलाई आज खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ।

विद्यालयकी भूपू विद्यार्थी बन्दना पाठक थपलिया र उनका श्रीमान् जगदिश्वर थपलियाले विद्यालयलाई फुटबल, भलिबल, नेटलगायतका सामग्री सहयोग गर्नुभएको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवालाको उपस्थितिमा हस्तान्तरण गरिएको सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज पाठकले ग्रहण गर्नुभयो।

अध्यक्ष पाठकले सुन्दरा माविलाई पूर्वी नुवाकोटको शैक्षिक केन्द्रका रूपमा उच्च स्तरमा पुर्‍याउने लक्ष्यसहित सबैलाई सहयोग र साथ दिन आह्वान गर्नुभयो। कार्यक्रममा सहायक प्रधानाध्यापक कुमारराज श्रेष्ठ, सल्लाहकार विष्णुकुमार पाठक र अर्जुन कार्कीको पनि सहभागिता थियो।

विद्यालयको पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको शारीरिक अभ्यास र प्रतिभा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सामग्री हस्तान्तरण गरिएको दाता बन्दना पाठक थपलियाले बताउनुभयो। उहाँका हजुरबुबा एवं शिक्षासेवी स्व. एकाबहादुर पाठकले २०३६ सालमा विद्यालय स्थापना गर्नुभएको थियो।

विद्यालयप्रति आफ्नै दायित्वबोध गर्दै पाठकले भन्नुभयो, “यो मेरो बाल्यकालको पाठशाला हो। हाम्रो पुस्ताले भोगेका अभाव र कठिनाइ अहिलेका विद्यार्थीले भोग्न नपरोस् भन्ने सोचका साथ यो सानो योगदान गरिएको हो।”

२०५४ सालमा यही विद्यालयबाट एसएलसी पूरा गर्नुभएकी पाठकले हालसम्म विभिन्न सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आइरहनुभएको छ। उनका श्रीमान् जगदिश्वर थपलिया पनि लायन्स क्लब र रक्तदान अभियानमार्फत मानव जीवन रक्षामा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्