जाजरकोटमा खोलामा पौडी खेल्दा दिदीबहिनीको मृत्यु
जाजरकोट, असोज १० । जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ।
धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया छोरी गीताकुमारी सिंह शुक्रबार दिउँसो खुर्पा खोलामा पौडी खेल्ने क्रममा बगेर ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार साँझ करिब साढे ४ बजे बहिनी गीताकुमारी बग्न थालेपछि दिदी मिनाकुमारीले बचाउन खोज्दा दुवै खोलामा बगेका थिए। पछि प्रहरीले स्थानीयबासीसँगै खोजतलास गर्दा करिब दुई सय मिटर तल दुवैको शव फेला परेको डाँगीले जानकारी दिनुभयो।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

