सिरहामा झिझियाँ नृत्य प्रतियोगिता सुरु, मैथिली संस्कृतिको जगेर्नामा जोड



सिरहा, असोज ११ । बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ। ‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजित नवरात्रि महोत्सवअन्तर्गत यो प्रतियोगिता घटस्थापनाको दिनबाट प्रारम्भ भएको हो।

श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य मैथिली संस्कृतिको जगेर्ना गर्नु रहेको मेला समितिका अध्यक्ष किसुन साहले जानकारी दिनुभयो। प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै मैथिली परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिने अध्यक्ष साहले बताउनुभयो।

साहका अनुसार सदरमुकाम सिरहामा पहिलोपटक झिझियाँ फेस्टिभलको शृङ्खला २०७० सालमा सुरु भएको थियो र २०७३ सालसम्म प्रतियोगितात्मक रूपमा सञ्चालनमा आएको थियो। पछिल्लो समय भने यसलाई मिथिला क्षेत्रका गाउँपालिका तथा नगरपालिकामा उत्सवकै रूपमा विस्तार गरिएको छ।

परम्पराअनुसार कलशयात्राको राति ९ बजेपछि झिझियाँ नृत्य सुरु हुन्छ। सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा प्रचलित यो लोकनृत्यलाई सम्पूर्ण मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिन्छ। धामीको मन्त्रसहित ‘छेकबार’ गरेर युवतीहरूले टाउकामा आगो बलिरहेको घैँटो राखी नाच्दै ब्रह्मस्थान पुगेर पूजा गरेपछि झिझियाँको औपचारिक सुरुआत हुन्छ।

मिथिला संस्कृतिका जानकारका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित छ। तर, पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।

मेला समितिका अध्यक्ष साहका अनुसार मिर्चैयामा घटस्थापनादेखि सुरु भएको मेला सप्तमीदेखि एकादशीसम्म सञ्चालन हुन्छ। विशेषगरी अष्टमीका दिन बोकाबलि प्रदान गर्ने, नवदुर्गाको पूजापाठ र भाकलमार्फत् मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्