राजमार्गमा बढ्दो पहिरो जोखिम : ‘रक सेड’ प्रविधि नै दीर्घकालीन समाधान
काठमाडौँ, असोज ११ । मुलुकका अधिकांश पहाडी र हिमाली क्षेत्रमा निर्माण गरिएका राजमार्ग र सडक खण्डमा पहिरो खस्ने र यातायात अवरुद्ध हुने घटना दिनप्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो समय नारायणगढ–मुग्लिङ सडकखण्डस्थित तुइनखोलामा पटक–पटक गएको पहिरोले १०५ घण्टासम्म यातायात ठप्प पार्दा सयौँ सवारीसाधन अलपत्र परे र हजारौँ यात्रु सास्ती खेप्न बाध्य भए । गत वर्ष सिमतालमा पहिरोले दुईवटा बस बगाउँदा ६५ जना यात्रु बेपत्ता बनेका थिए, जसको बस अझैसम्म फेला परेको छैन।
विशेषज्ञहरूका अनुसार नेपालजस्तो भूबनोट भएको मुलुकमा सडक र राजमार्ग निर्माण गर्दा परम्परागत शैली र प्रविधिले दीर्घकालीन समाधान दिन नसकेको प्रमाण यस्ता घटनाले स्पष्ट देखाएका छन् । उनीहरू पहिरो समस्या समाधानका लागि ‘रक सेड’ प्रविधि अपनाउनुपर्नेमा जोड दिन्छन्।
पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक इ. अर्जुनजङ्ग थापाले ‘रक सेड’ प्रविधि अपनाए मात्र सडक र यात्रु दुवैलाई सुरक्षित गर्न सकिने बताउनुभयो। “यो प्रविधि ४५ वर्षअघि नै अफगानिस्तानजस्ता मुलुकमा प्रयोगमा आइसकेको छ,” उहाँले भन्नुभयो, “सडकमाथि आरसिसी वा स्टिलको ढलानदार छाना बनाएर ‘रक सेड’ निर्माण गर्दा खसेको पहिरो छाना हुँदै खोलातिर बग्छ, सडकलाई भने कुनै असर पर्दैन।”
थापाका अनुसार ‘रक सेड’ प्रविधि निर्माण गर्न ठुलो लगानी र समय आवश्यक नपर्ने भएकाले तत्काल यसको कार्यान्वयनमा जान ढिलाइ गर्न नहुने हो । उनले सुरुङमार्ग जस्तो खर्चिलो र जोखिमपूर्ण विकल्प नेपालका लागि सबै ठाउँमा सम्भव नहुने भएकाले ‘रक सेड’ नै उपयुक्त विकल्प भएको प्रष्ट पार्नुभयो।
त्यसैगरी पूर्वसहसचिव इ. राजेन्द्र शर्माले पनि ‘रक सेड’ प्रविधि सस्तो, प्रमाणित र विश्वव्यापी रूपमा प्रयोगमा आइसकेको भएकाले नेपालका अधिकांश जोखिमयुक्त सडक खण्डमा तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विशेषज्ञहरूले पहिरो पीडित सडक खण्डमा बजेट कटौती वा रकमान्तर गर्ने परिपाटी तत्काल अन्त्य गर्दै स्थायी समाधानतर्फ सरकारले गम्भीर ध्यान दिनुपर्ने चेतावनी दिएका छन्।

