कांग्रेसभित्र असन्तुष्टि चिर्न डा. महत सक्रिय, ‘पार्टी एकता अभियान’को सुरुवात
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि चिर्दै संगठनलाई मजबुत बनाउन सक्रिय भएका छन्। यही क्रममा उनले काठमाडौं उपत्यकाभित्र रहेका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन्।
यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरूसँग निरन्तर संवाद गरिरहेका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोष सम्बोधन गर्ने उद्देश्यले छलफल अघि बढाएको बताइएको छ।
छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै पार्टीलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए।
नेताहरूलाई सम्बोधन गर्दै डा. महतले भने, “पार्टीलाई केन्द्रदेखि गाउँसम्म बलियो संरचना बनाउन सके मात्रै लोकतान्त्रिक आन्दोलन सशक्त हुन्छ। गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ।”
यसैबीच दशैंलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ। उक्त बैठकले संगठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
राजनीतिक विश्लेषकहरूले डा. महतको सक्रियतालाई केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरणका रूपमा लिएका छन्। उनीहरूका अनुसार, यो पहलले कांग्रेसलाई असन्तुष्टिबाट निकाल्दै संगठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा प्रभावकारी मोड दिने सम्भावित टर्निङ प्वाइन्ट बन्न सक्छ।
डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहसम्म पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहेका छन्।

