एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार बढी उत्तीर्ण
काठमाडौं, असोज ११ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार प्रकाशित नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन्।
बोर्डका अध्यक्ष डो महाश्रम शर्माका अनुसार कुल एक लाख ४३ हजार २५७ जना परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण (अवर्गीकृत) भएका छन्।
पूरक परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो। गत वैशाखमा भएको वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीलाई यस परीक्षामा सहभागी हुने अवसर प्रदान गरिएको बोर्डले जनाएको छ।
नतिजा बोर्डको आधिकारिक वेबसाइट र एसएमएसमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

