सर्लाहीमा स्कारपियोको ठक्करबाट दुईको मृत्यु, एक गम्भीर घाइते
सर्लाही, असोज ११ । सर्लाहीमा भारतीय नम्बरको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति दुर्घटना भएको हो। प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी–२ का २३ वर्षीय अङ्कित चौधरी र २५ वर्षीय रोहित सहनीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २३ वर्षीय शिवशङ्कर पण्डितलाई गम्भीर अवस्थामा बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिनुभयो।
उक्त मोटरसाइकललाई पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट ठक्कर दिएको थियो। गम्भीर घाइते चौधरी र सहनीलाई तत्कालै रामजानकी अस्पताल जनकपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएर फरार चालकको खोजी थालेको जनाएको छ।

