शिक्षामन्त्री पुनको चेतावनी : दशैं–तिहारमा शिक्षकको तलब नखुवाउने पालिकामाथि कारबाही हुने
काठमाडौँ, असोज ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशैं–तिहारको समयमा शिक्षकलाई तलब नदिने पालिकामाथि कारबाही गर्ने चेतावनी दिएका छन्।
शिक्षकहरूले तलब नपाएको गुनासो आएपछि मन्त्री पुनले शुक्रबार चेतावनीपूर्ण निर्देशन जारी गरेका हुन्। उनले भने, “मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना — दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ।”
उनको भनाइअनुसार दशैं–तिहार जस्तो महत्वपूर्ण पर्वमा शिक्षकलाई तलब नदिइनु अन्यायपूर्ण र अनुचित हो। यस सम्बन्धमा मन्त्रालयले गुनासो गर्ने शिक्षकहरूको विवरण संकलन गरिरहेको र पालिकालाई तत्काल तलब वितरण गर्न निर्देशन दिइएको छ।

