‘हाहाहुहु सरकारलाई जिम्मा लगाएर विदेश भाग्दैनौ’-ओली
भक्तपुर, असोज ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीलाई बदनाम गर्न सरकार विभिन्न हल्ला फैलाइरहेको दाबी गरेका छन्। शनिबार भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पासपोर्ट रोक्नेजस्ता भ्रम फैलाइएको भन्दै यस्तो हल्लाले आफ्नो अडान कमजोर नहुने प्रष्ट पारे।
ओलीले भने, “अहिले सरकार विभिन्न हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने, के ठानेको छ? यो हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ? के सोच्या छ? हामीले यो देश बनाउनुपर्नेछ।”
देश सबै नेपालीले मिलेर निर्माण गर्नुपर्ने भन्दै उनले संवैधानिक र लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउने प्रतिवद्धता दोहोर्याए। उनले देशलाई फेरि सुशासन, शान्ति र सुव्यवस्थाको बाटोमा ल्याउने उद्घोषसमेत गरे।
अध्यक्ष ओलीले आफ्नो नयाँ घर भनेर लोकेसन खोजेर आक्रमण गर्न सकिन्छ भन्ने कुरा गरिएकोप्रति आपत्ति जनाउँदै प्रश्न गरे, “सरकार सुरक्षा दिनका लागि बसेको हो कि होइन?”
उनले सरकारको भूमिका शंकास्पद भएको उल्लेख गर्दै भने, “यिनीहरूमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु भनेर धाक लगाइरहेका छन्। सरकारका कर्तव्य केही हुन्छन् कि हुँदैनन्? सुरक्षा दिनुपर्छ कि पर्दैन?”
ओलीको भनाइअनुसार, देश छोड्ने हैसियतमा आफू छैनन् र वर्तमान परिस्थितिलाई व्यवस्थापित गर्दै अघि बढ्ने दृढता एमालेको रहेको छ।

