चाडपर्व सुरक्षामा देशभर ५० हजार प्रहरी परिचालन
काठमाडौं, असोज ११ । नेपाल प्रहरीले आगामी चाडपर्व सुरक्षित र भयरहित वातावरणमा मनाउन देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले देशभरका सुरक्षा युनिटहरूले विशेष चाडपर्व सुरक्षा योजना तयार गरी लागू गरिसकेको जानकारी दिए। उनले भने, “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ। सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ।”
प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरिने छ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। काठमाडौं उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।
प्रहरीले मुख्यत: सवारीसाधनको आवागमन सहज बनाउन, भेला र जमघटमा हुने होहल्ला तथा झगडा नियन्त्रण गर्न, चोरी–तस्करीजस्ता आपराधिक गतिविधि रोकथाममा विशेष ध्यान दिइएको जनाएको छ। यस्तै, कालोबजारी तथा तोकिएभन्दा बढी सवारीभाडा असुल्ने कार्यमाथि पनि कडाइका साथ निगरानी गरिएको प्रहरीको भनाइ छ।

