दशैंभर मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना
काठमाडौं,असोज १२ । यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको दशैं विशेष मौसम बुलेटिनमार्फत दशैंभर मनसुनको प्रभाव जारी रहने जनाइएको हो।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायु सक्रिय भए पनि केही कमजोर अवस्थामा छ। नेपालमा मनसुन सामान्यतया अक्टोबर २ तारिखतिर बहिर्गमन गर्ने भए पनि प्रत्येक वर्ष सो मिति फरक हुने भएकाले यसपटक पनि दशैं अवधिभर पूर्ण रूपमा मनसुनको प्रभाव रहिरहने अनुमान गरिएको छ।
असोज १४ (अष्टमी):
बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरू तथा कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना।
असोज १५ (महानवमी):
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।
असोज १६ (विजया दशमी):
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा, साथै कोशी प्रदेशका पहाडी–तराई क्षेत्र र मधेस तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले दशैंका बेला यात्रा तथा अन्य गतिविधि गर्दा मौसमको अवस्थाबारे सचेत रहन सबैलाई आग्रह गरेको छ।

