विदुरमा चाडपर्व लक्षित बजार अनुगमन, १८ पसलमा स्थलगत निरीक्षण
नुवाकोट,असोज १२। चाडपर्वका अवसरमा उपभोक्ताबाट गुनासो बढेपछि नुवाकोटको विदुरमा बजार अनुगमन गरिएको छ। विदुर नगरपालिकाले दैनिक उपभोग्य सामग्रीको गुणस्तरीयतामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले विभिन्न बजार क्षेत्रमा छड्के अनुगमन गरेको हो।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार उपभोक्तामुखी सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले बजार अनुगमन समितिले चारवटा प्रमुख बजार क्षेत्रमा छड्के निरीक्षण गरेको हो।
अनुगमन समितिले विदुर–१ ढुङ्गे र त्रिशूली बजार, विदुर–२ बट्टार बजार र विदुर–९ कोलोनी बजारका १८ वटा पसलमा स्थलगत निरीक्षण गरेको छ। तीमध्ये सातवटा किराना तथा खाद्यान्न पसल, चारवटा मासु पसल, दुईवटा माछा पसल, दुईवटा तरकारी तथा फलफूल पसल, एउटा होटेल, एउटा ग्यास पसल, एउटा दूध डेरी र एउटा कस्मेटिक पसल रहेका छन्।
अनुगमन समितिका संयोजक तथा विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले बजारमा बिक्री वितरण हुने खाद्यवस्तु तथा उपभोग्य सामग्रीहरूको गुणस्तर परीक्षण, म्याद गुज्रिएका सामानको बिक्री रोकथाम, मूल्यसूची, तौल र व्यवसाय दर्ता प्रमाणपत्रको अवस्था जाँच गरिएको जानकारी दिनुभयो।
वडादशैंलाई लक्षित गर्दै गरिएको यस अनुगमनमा व्यवसायीहरूलाई मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

