आज नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना



काठमाडौं,असोज १२। आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा–आराधना भइरहेको छ। नवरात्रमा प्रत्येक दिन एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुसार आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको विशेष पूजा गरिँदैछ।

पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट उत्पन्न भएकी यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी स्वरूपकी देवी कात्यायनीले महिषासुरको वध गरेको उल्लेख दुर्गा सप्तशतीमा पाइन्छ।

चार हातमध्ये दुई हातमा तरवार र कमल पुष्प लिएकी तथा बाँकी दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गर्ने देवीको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। घटस्थापनादेखि सुरु भएको नवरात्रमा दशैँघरमा राखिएका जमरा र शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी) पाठ र देवीभागवत महापुराण वाचन गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस्